Saturday, March 11, 2017

दुर्घटनामा बस चालकको घटनास्थलमै मृत्यु

२९ फागुन, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना७ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासी ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ ।

यसैगरी सिराहा नगरपालिका–७ स्थित सडकमा ज६प ९३०८ नंको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २५ वर्षीया सरितादेवी साहको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतले फेरि खाना पकाउने ग्यास दिन रोक्यो ! अभाव शुरु

काठमाडौं, २९ फागुन । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ । नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ ।

मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन् । खाली हुनेबित्तिकै सिलिन्डर साट्दै आएका उपभोक्ताले अहिले भरिएको सिलिन्डर लिन तीनदेखि पाँच दिनसम्म कुर्नुपर्ने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भारतको बरौनीस्थित ग्यास रिफाइनरी केन्द्र इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मेन्टिनेन्स गर्ने नाममा १० दिनदेखि पूर्ण रूपमा बन्द गरेको छ । उक्त केन्द्र बन्द हुँदा त्यहाँबाट आउने ग्यास बुलेट आउन बन्द भएको छ । कुल ग्यासको मागमध्ये करिब ३५ प्रतिशत बरौनी रिफाइनरीबाट र बाँकी हल्दिया, पारादिप, मथुरा र कर्णालस्थित रिफाइनरीबाट आपूर्ति हुन्छ । सामान्य समयमा बरौनीबाट मासिक १४ हजार मेट्रिक टन ग्यास आपूर्ति हुन्थ्यो ।

‘मेन्टिनेन्स भनेर बरौनी रिफाइनरी डिपोले १० दिनदेखि पूर्ण रूपमा ग्यासको लोड दिन बन्द गरेको छ’, नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष गोकुल भण्डारीले भने, ‘यही बीचमा तराई मधेसको बन्द र हडतालका कारण लोड भएका बुलेट पनि विभिन्न स्थानमा रोकिएका छन् । बरौनीबाट पूर्ण रूपमा आउन बन्द र लोड भएका बुलेट पनि विभिन्न स्थानमा अलपत्र परेका कारण खाना पकाउने ग्यास उत्पादनमा निकै कमी आएको छ । यसले गर्दा बजारमा ग्यासको अभाव सुरु भएको हो ।’

नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशकसमेत रहेका भण्डारीका अनुसार तराई मधेसमा सुरु भएको आन्दोलनका कारण उपभोक्ताले सामान्य दिनभन्दा झन्डै दोब्बर संख्यामा सिलिन्डर सञ्चय गर्न थालेपछि बजारमा ग्यास अभाव भएको हो । संघका अर्का उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार सामान्य समयमा मासिक नौ हजार मेट्रिक टन ग्यास लोड दिने हल्दिया रिफाइनरीले पछिल्लो एक महिनादेखि ५० प्रतिशतको हाराहारीमा मात्रै लोड दिन थालेको छ ।

उक्त स्थानबाट मासिक नौ हजार मेट्रिक टन कोटा छुट्ट्याए पनि हाल करिब चार हजार मेट्रिक टन ग्यासको लोड मात्रै दिँदै आएको छ । ‘पूर्ण क्षमतामा रिफाइनरी सञ्चालन गर्न प्राविधिक समस्या आएको भन्दै हल्दिया रिफाइनरीले एक महिनादेखि कुल मागको आधी परिमाणमा मात्रै लोड दिँदै आएको छ’, उपाध्यक्ष मल्लीले भने, ‘बरौनी पूर्ण रूपमा बन्द र हल्दियाबाट आधी मात्रै ग्यास आउँदा बजारमा खाना पकाउने ग्यासको अभाव भएको हो ।’

बन्द बरौनी र हल्दियाबाट आउने कोटाअनुसारको अपुग ग्यास पारादिप, मथुरा र कर्णाल रिफाइनरीबाट उपलब्ध गराइदिन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराएको सात दिनभन्दा बढी समय बितिसक्दा पनि निगमले आईओसीसँग आवश्यक पहल नगरिदिएको आरोप उनले लगाए । ‘बरौनी र हल्दिया रिफाइनरीबाट प्राप्त हुन नसकेको अपुग कोटा अन्य स्थानबाट प्राप्त भए बजारमा ग्यास अभाव हुँदैनथ्यो’, राजधानी ग्यास उद्योग संघका सञ्चालकसमेत रहेका मल्लीले अन्नपूर्णसँग भने, ‘यही बेला मागअनुसार नियमित आपूर्ति हुन सकेन । अर्कोतर्फ आम उपभोक्ताले बढी संख्यामा सञ्चय पनि गर्न थालेकाले बजारमा चाहेकै समयमा सिलिन्डर पाउन समस्या आएको हो ।’

भक्तपुरमा झ्यालबाट खसेर एक युवतीको मृत्यु


फागुन २८, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा झ्यालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको तीन तलामाथिको झ्यालबाट बाहिर हेर्ने क्रममा खसेर २० वर्षकी रश्मी मचामासीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो ।

झ्यालबाट खसेपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा लगिएकामा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

सोझा लगानीकर्तालाई पेल्ने बैंक अर्ब पचाउने यिनलाई किन समाउँदैन ?


काठमाण्डौ । तरलताको कारण देखाउँदै बैंकहरुले सोझा लगानीकर्तालाई चेपेको धेरै भयो । सेयर लगानीकर्ता तथा अन्य क्षेत्रका लगानीकर्ता समेत भनेजति ऋण नपाएर प्याक प्याकी परिरहेका छन् । थोरै ऋण लिएका साना सेयर लगानीकर्ताहरुले समेत मार्जिन कलको बाध्यता सामना गर्नु परिरहेको छ । लगानी गर्न खोज्दा बैंकले ऋण नदिने, लिएको थोरै ऋण तिर्न थोरै ढिलो मात्र हुँदा तारन्तार फोन आउने, केही गरी तिर्न नसके थोरै ऋणकै कारण आफ्नो नाममा ३५ दिने, सात दिने सूचनामा निस्किने, त्यति गर्दा पनि नभए धितो लिलाम हुने, त्यति गर्दा पनि ऋण असूल उपर भएन भने प्रहरीको चिसो खोरसम्मै पुुग्नुपर्छ धेरैले ।

त्यति धेरै रकम पचाएर नतिर्दा समेत उनीबाट कर्जा असूलीका लागि कालोसूचिमा राख्ने बाहेक केही काम भएको छैन । कागजी कालोसूचिमा राखेर बैंकका हाकिमहरु तिनै कालोसूचिका व्यक्तिसँग तारे होटलमा डिनर गर्छन, उपहार आदानप्रदान गर्छन ।’
दुुर्भाग्य, यो देशमा कोही यस्ता पनि छन्, जसले वर्षौदेखि सरकारी बैंकको करोडौं पचाएका छन्, तर तिनै व्यक्तिको रवाफ ठूलो छ । बैंकको डिफल्टर भएर पनि उनीहरु कानून मिचेर कतिपय महत्वपूर्ण संस्थाहरुमा हालीमुुहाली गर्छन् । बैंक ऋण तिराउने कोशिश गर्छ, तर शक्ति र पहुँच देखेर पछि हट्छ, डराउँछ । अर्थात, बैंककै जिम्मेवार अधिकारीदेखि हरेक पटक शक्तिमा आउने प्रधानमन्त्रीसम्मलाई प्रभावमा राखी करोडौं ऋण नतिर्दा समेत कसै–कसैले भने उन्मुक्ति पाइरहेकै छन् । हजूर,  यस्ता भाग्यमानी, राज्य र बैंकद्वारा संरक्षित ठूला बैंक डिफल्टर हुन्–उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको विधान संसोधन समितिका संयोजक ढकालले शक्तिकेन्द्रका आडमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्ब बढी रकम पचाएका भन्दै उपलब्ध सबै निकायमा उजुरी पनि परिसकेको छ । तर, अख्तियारदेखि राष्ट्रबैंकसम्म यो बिषयमा तै चूप मै चूप छन् । आखिर चण्डीराज ढकालप्रति सबै निकाय यति उदार किन भएका होलान् ?



राष्ट्रिय वाणिज्य बैंकमा ०५३ सालमै उनले झापामा संचालन गरेको मोमेण्टो एपरेल्स प्रालि(गार्मेन्ट उद्योग)को नाममा लिएका ऋण नतिरेर सो बैंकले कालोसूचिमा राखे पनि नतिरिएको ऋण असूली नगरिएको र शक्तिकेन्द्रको आडमा उनलाई उन्मुक्ति दिने काम गरिएको भन्दै राष्ट्रिय वाणिज्य बैंककै कर्मचारीहरुले पनि पटक पटक विभिन्न निकायमा उजुरी हाले, तर सबै रद्धीको टोकरीमा मिल्क्याइए ।

पछिल्लो समय कर्मचारीहरुको एक समूहले २०७३ साउन ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ढकालविरुद्ध उजुरी हालेको थियो, तर यो बिषयमा समेत कुनै सुनुवाई भएन । त्यसबेला हालिएको उजुरीमा मुख्य दोषी मोमेण्टो एपरेल्सका प्रमुख संचालक ढकाललाई बनाइएको थियो । उनले एपरेल्सको नाममा नक्कली कागजात खडा गरी कम धितोको जग्गा राखी तत्कालीन बैंक व्यवस्थापनका उच्च तहका मानिसलाई समेत प्रभावमा पारी करिब दुई दशकअघि ऋण लिएका र सो ऋण हालसम्म नतिरिएको उजुरीमा उल्लेख थियो ।

''तर हामीले कालोसूचिमा राखेका व्यक्ति नै मन्त्री, गभर्नर, प्रधानमन्त्री र उच्च नेतासँगको संगतमा हुन्छन् । बैंक डिफल्टरलाई नै नमस्ते ठोक्दै हिड्नुपर्ने बिडम्बना छ ।''

-बैंक कर्मचारी
स्रोतका अनुसार ढकालले ०५३ सालमै राष्ट्रिय वाणिज्य बैंकबाट मोमेन्टोको नाममा ३० करोड बढी ऋण लिएका र सो ऋणको ब्याज समेत जोडिएर हाल साढे २ अर्ब बढी भइसके पनि अझै तिरेका छैनन् । सो ऋणको सावा र ब्याज हालसम्म पनि उनले चुक्ता गरेका छैनन् । बैंकले उनलाई पटक–पटक कालोसूचिमा राखे पनि राज्यको उपल्लो स्तरसम्म पहँुच भएका कारण र त्यसैको आडमा उनले सरकारी लगानीको बैंकको पैसा पचाउँदै आएका छन् ।

‘ढकालले त्यसबेलादेखिको साँवा र ब्याज गरी राष्ट्रिय वाणिज्य बैंकको मात्रै साढे २ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ ।’ बैंकका एक कर्मचारीले भने–‘उनलाई बैंकले पटक–पटक कालोसूचिमा राखे पनि हरेक पटकका सीइओ, प्रधानमन्त्री, अर्थमन्त्री, अख्तियार प्रमुख, प्रहरी समेतको धाक दिएर मिलाउने गरेका छन् ।’

ती कर्मचारीका अनुसार सर्वसाधारणले एक–दुई लाख लिंदा र नतिर्दा बैंकले राज्यका आधिकारिक निकाय प्रयोग गरेर कर्जा असूली गर्ने गरे पनि ढकाललाई उन्मुक्ति दिने काम भएको छ । ‘त्यति धेरै रकम पचाएर नतिर्दा समेत उनीबाट कर्जा असूलीका लागि कालोसूचिमा राख्ने बाहेक केही काम भएको छैन ।’ ती कर्मचारीले भने–‘कागजी कालोसूचिमा राखेर बैंकका हाकिमहरु तिनै कालोसूचिका व्यक्तिसँग तारे होटलमा डिनर गर्छन, उपहार आदानप्रदान गर्छन ।’

कर्मचारीहरुले आफूहरुको तर्फबाट डूबेको ऋण असूलीका लागि पटक–पटक प्रयास गर्दा पनि आफूहरुलाई हतोत्साही बनाइएको, चण्डी ढकालले कालोसूचिमा परेका व्यक्ति भए पनि उल्टै कर्मचारीलाई धाकधम्की दिने गरेका आरोप लगाएका छन् ।

स्रोतका अनुसार केपी ओली सरकारको पालामा बैंकका केही कर्मचारीको प्रयासमा ढकालबाट ऋण असूलीको प्रयास गरिएको थियो । तर, त्यसबेला समेत झापाली भएको नाताले ओलीसँग गाउँले नातो गाँसेर ढकाल आफूमाथिको संभावित कारबाही रोक्न सफल भएका थिए ।

‘हामीले उनलाई कालोसूचिमा राखेको वर्षौ भयो ।’ राष्ट्रिय वाणिज्य बैंकका एक उच्च तहका कर्मचारीले भने–‘तर हामीले कालोसूचिमा राखेका व्यक्ति नै मन्त्री, गभर्नर, प्रधानमन्त्री र उच्च नेतासँगको संगतमा हुन्छन् । बैंक डिफल्टरलाई नै नमस्ते ठोक्दै हिड्नुपर्ने बिडम्बा छ ।’

अन्य देशमा कालोसूचिको व्यक्तिलाई सामाजिक बहिस्कार गर्ने चलन छ, तर हाम्रो देशमा साढे २ अर्ब बढी नतिर्ने कालोसूचिका ढकालको राज्य तहको उपल्लो स्तरमा उल्टो चलखेल चल्ने गरेको भन्दै कर्मचारी आक्रोशित छन् ।

ती कर्मचारीको भनाईमा अर्थमन्त्री, प्रधानमन्त्री, राष्ट्रबैंकका गभर्नर र प्रहरीका हाकिम लगायत सबै तहका प्रमुखहरु नतातेसम्म राज्य र जनताको २ अर्ब बढी रकम उठ्ने संभावना छैन ।

विभिन्न मितिमा अख्तियार लगायत विभिन्न निकायहरुमा परेको उजुरीमा समेत कर्मचारीहरुले ढकाललाई तत्काल पक्राउ गरी डूबेको ऋण असूली गर्न आग्रह गरेका छन् । सो उजुरीमा उल्लेख भएअनुसार ढकालले राष्ट्रिय वाणिज्य बैंकको मात्र होइन, नेपाल बंगलादेश बैंकलाई पनि २३ करोड बढी रकम तिर्नुपर्नेछ । पछिल्लो समय ढकालविरुद्ध अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ४०९३ हो ।


Source : Bizshala

एकाएक कसरी उल्टियो मधेशी मोर्चाको निर्णय, सप्तरीको घटनाको रात भारतीय राजदूतले के गरे ?

काठमाडौं, २६ फागुन । सप्तरी घटनापछि जसरी नेपाली राजनीति तरंगित भएको छ, त्यसैगरी भारतीय दूतावास पनि एकाएक सक्रिय भएको छ । भारतीय राजदूत रन्जीत रे कार्यकाल सकेर फिर्ता भइसके पनि निमित्त राजदूत विनय कुमारका कारण मधेशी मोर्चाको एउटा निर्णय उल्टिएको खुलासा भएको छ । निमित्त राजदूत विनय कुमारकै दबाबमा मधेसी मोर्चाले सरकारबाट समर्थन लिन नसकेको खुलासा भएको हो । नेकपा एमालेको मेची महाकाली–अभियान बिथोल्ने क्रममा फागुन २३ गते सप्तरीमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएपछि सोही दिन साँझ काठमाडौँमा मधेशी मोर्चाको आकस्मिक बैठक बस्यो । हतारहतारमा बसेको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्यो । तर, एकैछिनमा त्यो निर्णय फेर्दै विज्ञप्ति जारी गरियो । सरकारबाट समर्थन फिर्ता लिने निर्णय एकाएक ‘गायव’ पारियो । मोर्चाका प्रवक्ता मनिष सुमनले समेत समर्थन फिर्ता लिने निर्णय भएको र फागुन २४ गते औपचारिक रुपमा सरकार र संसदमा जानकारी गराउने निर्णय गरेको जानकारी संचारकर्मीलाई दिए । तर, एकछिनअगाडि सरकारबाट समर्थन लिएको मोर्चाले विज्ञप्तिमा त्यो कुरा उल्लेख नभएपछि सञ्चारकर्मी समेत आश्चर्यमा परे । हतार–हतार समाचार सच्याइयो । कारण– मधेशी मोर्चा आफ्नो निर्णयमा केही मिनेट पनि टिक्न सकेन् ।
नाम उल्लेख नगर्ने शर्तमा मोर्चाका एक जना नेताले दैनिक नेपालसँग भने- भारतीय दूतावासबाट निमित्त राजदूत विनय कुमारले फोन गरी तत्काल निर्णय सच्चाउन दबाब दिए । भोलि फेरि बसेर निर्णय गर्ने भनेर नेताहरु उठे । सोही बमोजिम मधेशी नेताहरुले ‘फेस सेभिङ’ गरे । सरकारबाट हटने निर्णय गरेको मोर्चाले शर्त राख्दै एकहप्ताको अल्टिमेटम दियो । मोर्चाले भारतले के भन्यो ? घटनाको भोलिपल्ट मंगलबार बसेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारबाट समर्थन फिर्ता लिएन, एक हप्ताको अल्टिमेटम मात्र दियो । त्यो शर्त थियो– ७ दिनभित्र संविधान संशोधन गर्नुपर्ने र निर्वाचन स्थगित गर्नुपर्ने । पहिला समर्थन फिर्ता लिएको, पछि निर्णय गायब पारिएको र भोलिपल्ट सरकारलाई ७ दिने अल्टिमेटम दिने गरी मधेसवादी दलको फरक फरक निर्णय आउनुका पछाडि भारत थियो ।किनकी अघिल्लो रात धेरै कुरा पाकिसकेको थियो । सरकारबाट समर्थन फिर्ता लिएपछि ‘बाग्रेनिङ पावर’ घट्ने भएकाले तत्काल अन्य निर्णय गर्न भारतीय निमित्त राजदूतले सुझाव दिएको मोर्चाका एक नेताले बताए । भारतीय दूतावासले भने अनुसार गर्ने कि नगर्ने भन्नेमा पनि मोर्चाभित्र चर्को विवाद देखियो । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारतीय प्रस्तावको विपक्षमा उभिए । यादवले असहमति जनाएपछि मोर्चाका प्रभावशाली नेता महन्थ ठाकुरको दबाबमा सरकारलाई देखावटी रुपमा ७ दिनको अन्टिमेटम दिइएको स्रोतको दाबी छ । भारतीय दूतावासको खेलले प्रचण्ड सरकार भीरको डिलैमा पुगेर पनि टिक्न त सफल भयो । तर, सप्तरी घटनापछि मधेशी मोर्चा र सरकारबीचको दूरी बढेको छ । वर्तमान गठबन्धन बनाउन निकै ठूलो मेहनत गरेको भारतले यसको विकल्पका विषयमा पनि प्रमुख पार्टीभित्र खेलिरहेको स्रोतको दाबी छ । भारतीय दूतावासका कर्मचारीहरु सरकार, मधेशी दल, काँग्रेस र एमालेका केही नेताहरुसँग दिनहुँजसो अनौपचारिक छलफल गरिरहेको स्रोतको दाबी छ ।

Friday, March 10, 2017

मोटरसाईकल दुर्घटना हुँदा एकको ज्यान गयो

सिरहा २८ फागुन। सिरहामा भएको मोटरसाइकल दुर्घटनामा परि एकको ज्यान गएको छ । गोलबजारमा शनिवार भएको र्दुघट्ना डोमा महराको ज्यान गएको हो । पूर्वबाट पश्चिमतिर जाँदै गरेको स.५प १२४९ नम्बरको मोटरसाइकल बिहान २ बजेतिर गोलबजार नगरपालिका ७ मा पर्ने मैनाबत्ती खोलामा खस्दा सिरहा नगरपालिका ७ का महराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका रजेश महराको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भईरहेको छ ।

कञ्चनपुरजस्तै मुस्ताङ घटना हुँदा चीनले मागेको थियो माफी, तर भारत ‘दादा’ बन्न खोज्दैछ…

काठमाडौं, २८ फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज सर्वत्र छ । आजको कान्तिपुरमा खबर छ । पहिलो र दोस्रो दल नेपाली कांग्रेस र एमालेलगायतले विज्ञप्ति प्रकाशित गरेका छन् भने विद्यार्थी संगठनहरूले काठमाडौंस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन गरेका छन् । यो घटनालाई कतिपयले भने १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीले मुस्ताङमा एक नेपाली नागरिकको हत्या भएको घटनासँग तुलना गरिरहेका छन् । १९५० को दशकमा नेपाल र चीनबीच ३ वटा विवाद थिए । पहिलो, नेपाली व्यापारीहरूले चीनमा व्यापार तथा वाणिज्यसँग सम्बन्धित विभिन्न समस्या भोगिरहेका थिए । दोस्रो, नेपाल र चीनबीच सीमा विवाद थियो । तेस्रो विवादचाहिँ सगरमाथाबारे थियो । यी विवादका कारण नेपाल र चीनको सम्बन्ध त्यति मधुर थिएन । नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले प्रधानमन्त्री भएलगत्तै यी विषय समाधानका लागि चिनियाँ सरकारसँग संवादको थालनी गरे । त्यसै मेसोमा १९५९ को अक्टोबर महिनामा मन्त्री तुलसी गिरीलाई प्रधानमन्त्री कोइरालाले चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न चीन पठाए । चीनबाट फर्केर गिरीले सीमालगायतका अन्य विषय समाधान गर्न चीन तयार हुनेमा आफू विश्वस्त नभएको प्रतिक्रिया दिएका थिए । गिरीको भ्रमणपछि समस्या समाधानको छनक नदेखिएपछि काठमाडौंमा चीनप्रतिको आक्रोश झन् बढेको थियो । समस्या समाधानका लागि प्रधानमन्त्री कोइराला आफंैले १९६० को मार्च महिनामा चीन भ्रमण गरको थिए ।
यो भ्रमणले दुई पक्षीय सम्बन्धलाई सुधार गर्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोइरालाले चीनको भ्रमण गरेको केही महिनामै चीनका प्रधानमन्त्रीले काठमाडौंको भ्रमण गरे । दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान–प्रदान र कुराकानीको प्रतिफलस्वरूप १९६० को पूर्वाद्र्धमा नै नेपाल र चीनबीचका धेरै समस्या समाधान भए । तर, सीमा तथा सगरमाथाको विवाद कायम नै रहेका बेला मुस्ताङको सीमामा नयाँ विषय उत्पन्न भएको थियो । १९६० को जुन २८ तारिखमा चिनियाँ सुरक्षाकर्मीहरूले सीमा पार गरेर मुस्ताङको नेपाली भूभागमा प्रवेश गरे । चिनियाँ सुरक्षाकर्मीको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भयो भने उनीहरूले केहीलाई आफ्नो कब्जामा लिए । त्यो घटनालाई नेपाली पक्षले चीनसँग दह्रोसँग उठायो । नेपाल मामिलाका जानकार एसडी मुनीले नेपालको परराष्ट्र नीतिसम्बन्धी पुस्तकमा उल्लेख गरेअनुसार उक्त घटनामा चिनियाँ पक्षले आफ्नो सुरक्षा निकायको तल्लोस्तरको जवानले गरेको असावधनीका कारण घटना भएको स्वीकर गर्‍यो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले चीन सरकाका तर्फबाट घटनाका सम्बन्धमा माफी मागे र नेपाल सरकारले मागेअनुसार मारिएका सुरक्षा गार्डको परिवारलाई क्षतिपूर्ति दिने बताए । अहिलेको घटनामा पनि नेपाल सरकारले भारतीय पक्षसँग यो विषयमा कुराकानी भएको जनाएको छ । घटनाको भोलिपल्ट भारतीय विदेश मन्त्रालयले यस सम्बन्धमा सीमा सुरक्षा बलले अनुसन्धान गरिरहेको बताएको छ । उसले आफ्ना सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक मारिएको भन्ने अझै स्वीकार गरिसकेको छैन । विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर घटनाको सम्बन्धमा पोस्टमार्ट रिपोर्ट र फोरसेनिक रिपोर्ट उपलब्ध गराएर अनुसन्धानका लागि सहजीकरण गर्न नेपाललाई आग्रह गरिएको बताएको छ । आफ्नो पुस्तकमा चिनियाँ सुरक्षाकर्मीले नेपाली नागरिकको प्रसंग उल्लेख गर्ने मुनीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिक मारिएको घटनाबारे ट्वीटमार्फत भनेका छन्, ‘जमिनसम्बन्धी विवादमा गोली चलाएर र नेपाली नागरिकको हत्या गरेर सीमा सुरक्षा बलले ठूलो गल्ती गरेको छ । भारतले सकेसम्म छिटो यस घटनाका सम्बन्धमा माफी माग्नुपर्छ र क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।’ नेपाली भूमिमै कल्भर्ट बनाइए पनि एसएसबीले भारतको भूमि भएको दाबी गरेपछि विवाद भएको हो । सुस्ता र कालापानीबाहेक अन्य भूभागमा समेत सीमासम्बन्धी विवाद छन् । यसले गर्दा बेलाबेला तनाव सिर्जना हुने गरेको छ ।