Friday, February 24, 2017

अल्छीपनले लाग्न सक्छन् यी रोग




नेपाल हृदयाघात सचेतना केन्द्रले दुई वर्षअघि काठमाडौंमा मुटुरोगबारे एउटा अनुसन्धान गर्‍यो । ५ हजारभन्दा मानिसमा गरिएको अनुसन्धानको नतिजा चिकित्सकहरूलाई समेत चकित पार्ने खालको थियो । अनुसन्धानले काठमाडौंको आधाभन्दा बढी जनसंख्यामा कोलेस्टेरोलको समस्या रहेको संकेत गरेको थियो । त्यसमा पनि ४० वर्षभन्दा कम उमेरका ५० प्रतिशत महिला र ६५ प्रतिशत पुरुषमा कोलेस्टेरोलको समस्या देखियो । काठमाडौंबासीमा डायबिटिज, मोटोपन, उच्च कोलेस्टेरोल पनि देखियो ।

मुटुरोग निम्त्याउने कोलेस्टेरोलको समस्या भएकाहरू मात्र होइनन्, खानपान र जीवनशैलीका कारण हुने रोगबाट प्रभावितहरूको संख्या पछिल्ला दिनमा निकै बढेका छन् । व्यक्तिगत आनीबानीले निम्तने स्वास्थ्य समस्या लिएर जँचाउन आउने बिरामीको चाप स्वास्थ्यसंस्थाहरूमा बढ्न थालेका छन् ।

शारीरिक रुपमा निष्क्रिय जीवनशैली र खानपान स्वास्थ्यअनुकूल नहुँदा  मुटु, मिर्गौला, न्यूरोसम्बन्धी रोगका साथै, मधुमेह र उच्च रक्तचापका बिरामी अस्पतालमा बढिरहेको चिकित्सकहरू बताउँछन् । यही तरिकाले बिरामी बढ्ने हो भने राष्ट्रले ठूलो स्वास्थ्य संकट बेहोर्ने दिन टाढा नरहेको चिकित्सकहरूको निष्कर्ष छ ।

बेलायतमा हालै १० लाख मानिसमा गरिएको एक वृहत अध्ययनको नतिजाले पनि यही कुरालाई संकेत गरेको छ । सामान्य शारीरिक अभ्यास नगर्दा विश्वमा बर्सेनि ५० लाखभन्दा बढीले अकालमा ज्यान गुमाइरहेको अध्ययनले उल्लेख गरेको छ । शारीरिक रुपमा निष्क्रिय हुने मान्छेको सँख्या बढ्दै जाँदा विश्व अर्थतन्त्रले बर्सेनि ६७ दशमलब ५ अर्ब डलर मुल्य चुकाउनु परेको छ । व्यायाम अभावमा निम्तने पाँच प्रमुख रोग मुटु, स्ट्रोक, मधुमेह, स्तन क्यान्सर र कोलोन क्यान्सरको उपचारमा यति खर्च भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।

निष्क्रिय जीवनशैलीका कारण मुटु रोग, डायबिटिज र क्यान्सरसँग सम्बन्धित समस्या विश्वभर बढ्दै गएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सातामा कम्तिमा १५० मिनेट फटाफट हिड्न दिएको सुझाब आफैंमा अपर्याप्त भएको उक्त अनुसन्धानमा संलग्न मध्येका नर्वेजियन स्कुल अफ स्पोर्टस साइन्स एन्ड क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक युफ इकलुन्डले बताएका छन् । ‘तपाईं खेल्न जान वा जिम हलमा पुग्नु पर्दैन तर दैनिक एक घन्टा सामान्य व्यायाम गर्नैपर्छ,’ उनले भनेका छन्, ‘दैनिक साढे पाँच किलोमिटर प्रति घन्टा वा १६ किलोमिटर प्रति घन्टा साईक्लिङ अनिवार्य छ ।’

डा. चापागाइँका अनुसार क्यान्सर हुने करिब ३५ प्रतिशत कारण सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासु खानु, ५ प्रतिशत मदिरा सेवन, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत र बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ । उनी भन्छिन्, ‘करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।’

अन्तराष्ट्रिय जर्नल ल्यान्सेटमा प्रकाशित सो अध्ययनमा शारीरिक रुपमा निस्क्रिय मानिसको असामयिक मृत्यु हुने खतरा सबैभन्दा बढी रहेको पनि उल्लेख छ ।

उपचारको पहुँच बाहिर क्यान्सरका बिरामी

ग्लोबल क्यान्सर स्ट्याटिक्सले विश्वमा बर्सेनि क्यान्सरका १४ लाख नयाँ बिरामी पत्ता लाग्ने गरेको देखाएको छ । यसअनुसार नेपालमा बर्सेनि ३० हजार क्यान्सरका नयाँ बिरामी देखापर्छन्,  तीमध्ये अस्पतालको पहुँचमा १२ हजारमात्र छन् । बहुसंख्यक क्यान्सरका बिरामी अहिले पनि उपचारको पहुँच बाहिरै छन् ।

क्यान्सर बारे जनचेतनामा कमी भएकाले नेपालीहरू अस्पतालको सम्पर्कमा पुग्न नसकेको चिकित्सकहरू बताउँछन् । यसको उपचार महङ्गो भएकाले पनि अस्पतालको पहुँचमा आउन मुश्किल परिरहेको वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाइँले बताइन् ।  उनी भन्छिन्, ‘यसैले क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत मृत्यु नेपालजस्ता अल्प विकसित र कम विकसित देशमा हुने गरेको बताइन्छ ।’

माइग्रेन हुनुको ठ्याक्कै कारण पत्ता नलागेपनि बढी मानसिक चिन्ता लिने, चिया  र कफी धेरै पिउने, समयमा नसुत्ने, शिशीमा राखिएको अचार, गुन्द्रुकजस्ता खानेकुरा अत्याधिक सेवन गर्ने र बढी मात्रामा पेनकिलरको प्रयोग गर्नेमा बढी देखिएको छ । यसैगरी डायबिटिज, ब्लड प्रेसर र चुरोट सेवनकर्ता यसको जोखिममा हुन्छन् ।
डा. चापागाइँका अनुसार क्यान्सर हुने करिब ३५ प्रतिशत कारण सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासु खानु, ५ प्रतिशत मदिरा सेवन, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत र बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ । उनी भन्छिन्, ‘करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।’

नेपालमा बढ्दै गएको अस्वस्थ जीवनशैलीका कारण तौल बढी हुने समस्या छ । ‘एक्सरसाइज’ नगर्ने र खानपानमा ध्यान नपु¥याउँदा ‘बडी मास इन्डेक्स’ बढ्छ । महिलामा बढी तौल हुँदा प्रायजसो क्यान्सरको संभावना बढी देखिएको विभिन्न अध्ययनले जनाएका छन् । नेपाल हृदयाघात सचेतना केन्द्रले  गरेको अध्ययनमा पनि ६१ प्रतिशत मानिसमा मोटोपन रहेको पाइएको थियो । यस्तै, ५८ प्रतिशतले शारीरिक गतिविधि अत्यन्त कम गर्ने गरेको पनि अध्ययनमा पाइएको थियो ।

नेपालीलाई बढी हुने न्युरो समस्या

विश्वका अन्य देशमा कमै हुने तर नेपाल लगायतका दक्षिण एशियाली देशमा धेरै हुने समस्यामा न्यूरो पनि पर्छ । नर्भिक इन्टरनेशनल हस्पिटलका न्युरोलोजिष्ट डा. पंकज जलानका अनुसार तीमध्ये च्याप्टेकिरा (न्युरोसिस्टसेरोसिस) एक हो । ‘बाटो छेउमा बेचिने फलफूल र सागपात, सुंगुरको मासुका कारण यो समस्या हुन्छ । च्याप्टेकीरा यी अस्वस्थकर खाद्यको माध्यमबाट पेटमा गएर त्यहाँबाट दिमागमा जान्छ,’ उनी भन्छन् ।

यसैगरी माइग्रेन पनि धेरै नेपालीको साझा समस्या बन्दै गइरहेको छ । माइग्रेन हुनुको ठ्याक्कै कारण पत्ता नलागेपनि बढी मानसिक चिन्ता लिने, चिया  र कफी धेरै पिउने, समयमा नसुत्ने, शिशीमा राखिएको अचार, गुन्द्रुकजस्ता खानेकुरा अत्याधिक सेवन गर्ने र बढी मात्रामा पेनकिलरको प्रयोग गर्नेमा बढी देखिएको छ । यसैगरी डायबिटिज, ब्लड प्रेसर र चुरोट सेवनकर्ता यसको जोखिममा हुन्छन् । यस्ता खानेकुरा सेवा गर्नेमा नेपालीहरू पनि पर्ने भएकाले यसको उच्च जोखिममा नेपाली रहेको डा. जलान बताउँछन्  ।

नेपालीको साझा समस्याका रुपमा विकसित भइरहेको तर आफ्नो जीवनशैली परिवर्तन गर्दा रोक्ने सकिने रोग एन्जाइटी पनि हो । यो कसरत गर्ने बानी नभएकाहरूमा बढी देखिने उनले बताए ।

ढाड र गर्धन दुख्ने समस्या पनि आफैंले निम्त्याएको समस्या मध्ये पर्छ । महिलाहरू यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । ‘करिब ८५ देखि ९० प्रतिशत जीवनशैली र बसाइका कारण यो समस्यामा पर्छन्,’ ट्रमा सेन्टरमा कार्यरत डा. गौरव ढकाल भन्छन् ।

कतिपय नशाका समस्या अन्य समस्यालाई बाटो बनाएर आउँछन् । त्यसमध्ये कसरत नगर्दा रक्तचापको समस्या हुन्छ । जुन समस्याले पछि मष्तिष्काघात हुन सघाउँछ । विशेषगरी रक्तचापका  बिरामीले औषधिमा हेलचेक्राइँ गर्दा नशा फुटेर हुने मस्तिष्कघातको सामना गर्नु परिरहेको डा. पंकज बताउँछन् । नेपालमा रक्तचापसम्बन्धी चेतना कम, भ्रम बढी रहेको उनको भनाई छ । धेरै जसो मानिसमा उच्च रक्तचापको औषधि जीवनभर खाइरहनु पर्ने, औषधिले मिर्गौलामा समस्या पार्ने जस्ता भ्रम रहेको छ ।

मुटुलाई प्रेसरमा पार्ने काम

मुटुमा दबाब पार्ने गरी काम गर्ने प्रवृत्तिका कारण पनि मुटुका समस्या बढ्दै गएको ग्रान्डी इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठको भनाई छ । उनका अनुसार नेपालमा ग्रामीण तथा सहरी भेगमा लाग्ने मुटु रोगका प्रकार फरक छन् । उनले भने, ‘नेपालगञ्जमा काम गर्ने क्रममा त्यहाँ धेरैजसोमा बाथ मुटुरोग भेटिन्थ्यो । तर, सहरी क्षेत्रमा उच्च रक्तचाप, मधुमेह, हृदयाघातको समस्या धेरै छ ।’

काठमाडौं किड्नी एण्ड डायबिटिजि सेन्टरका नेफ्रोलोजिष्ट डा. लक्ष्मणप्रसाद अधिकारीका अनुसार  मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मिर्गौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ ।’

सहरी क्षेत्रका मानिसहरूमा हुने आर्थिक उपार्जनको बढ्दो महत्वाकांक्षाले पनि कालान्तरमा मुटुको समस्या निम्त्याइरहेको छ । डा. श्रेष्ठ भन्छन्, ‘अहिले धेरैका आफ्नै पेशा र व्यवसाय छन् । त्यसैले बिहानदेखि बेलुकासम्म काममै खटिन्छन् ।  व्यायाम छैन, काममा तनाव छ । तनावले रात परेपछि मादकपदार्थ सेवन गर्छन् ।’

सुगर, रक्तचाप तथा कोलेस्टेरोल बढेका कुरालाई गम्भीर रुपमा नलिँदा पनि मुटुलार्ई जोखिममा पारिरहेको छ । डा. श्रेष्ठले भने ‘रक्तचाप बढ्दा पनि औषधि खान नपाए हुन्थ्यो जस्तो गर्छन् । खान खोज्दैनन् । यसले झन् समस्या पारिरहेको छ ।’

उच्च रक्तचाप र मधुमेहले मुटुको समस्या निम्त्याइरहेका छन् । यी दुवै समस्या शारीरिक अभ्यासको कमी र अस्वस्थ खानपानका कारण सिर्जना हुन्छन् ।

कसरी बिग्रिरहेको छ मिर्गौला ?

जीवनशैलीमा आएको परिवर्तनले जोखिममा पारेको अर्को अंग हो मिर्गौला ।  मिर्गाैला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हो । डायबिटिज र उच्च रक्तचापजस्ता रोग कम हुने ग्रामीण भेगका बासिन्दामा पनि एन्टिबायोटिक, पेन किलरजस्ता डाक्टरको सिफारिस बेगर पाइने औषधिको अत्याधिक प्रयोगले किड्नी फेल हुन सक्ने जोखिम बढेको छ । यसैगरी जाँडरक्सी, चुरोट, मासु आदि बढी खाने, तनाव लिने र व्यायाम नगर्ने व्यक्तिको मिर्गाैला सधैं जोखिममा हुन सक्छ ।

काठमाडौं किड्नी एण्ड डायबिटिजि सेन्टरका नेफ्रोलोजिष्ट डा. लक्ष्मणप्रसाद अधिकारीका अनुसार  मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मिर्गौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ ।’

नेपालमा वैदेशिक रोजगारीमा काम गर्न गएका युवामापनि मिर्गौला फेल हुने समस्या बढेका छन् । यसको खास कारणबारे अनुसन्धान भइरहेको छैन  । यो तथ्यप्रति सरकारी तहबाटै गम्भीर हुनुपर्छ र मिर्गौला जोगाउने उपायबारे जनचेतना जगाउनुपर्ने आवश्यकता डा. अधिकारीले देखेका छन् । उनलाई लाग्छ, ‘पहिलो कारण हावापानी एक्कासी परिवर्तन हुनु हो । त्यसपछि शरीरमा पानीको मात्रा कम हुने (डिहाइड्रेसन) का कारण पनि हुन सक्ने अनुमान गरिएको छ ।’

डायबिटिजको उच्च जोखिममा नेपाली

विश्वमा नेपालीहरू डायबिटिजको उच्च जोखिममा रहेकाले पनि बढी ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । डायबिटिज र उच्च रक्तचापका कारण मुटु, न्यूरो र मिर्गाैलामा समस्या आउने भएकाले पनि बेलैमा सचेत हुनुपर्ने चिकित्सकहरूको सुझाव छ । नेपाल मधुमेह संघका महासचिव समेत रहेका  डा. मनिल बज्राचार्य भन्छन्, ‘बढ्दो शहरीकरण, बसाइँसराई र खानपानमा आएको गडबढीले समस्या अनपेक्षित रुपमा बढिरहेको छ।’

दक्षिण एसिया क्षेत्रका मानिसहरूको शारीरिक संरचना र खानपानको संस्कृतिले पनि डायबिटिज बढाइरहेको छ । ‘हाम्रो खानामा कार्बोहाइड्रेडको प्रयोग बढी छ । जीवनशैली पनि पहिलेको तुलनामा विलासी हुँदै गएको छ,’ वीर अस्पतालकै अर्का डायबिटिज विशेषज्ञ डा. अलर्क देवकोटा ‘रजोरिया’ भन्छन् । विश्वका अन्य देशमा ५०\६० वर्षको उमेरपछि मात्रै टाइप टु डायबिटिज देखिने भएपनि नेपालमा भने ४०÷४५ वर्षको उमेरमा नै यसको समस्या देखा परिरहेको उनी बताउँछन् ।

औसतमा उचाई कम तर मोटाउने क्रम ज्यादा भएकाले नेपालीहरू डायबिटिजका दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा छन् । चिकित्सकीय भाषामा ‘मेटाबोलिक’ भनिने यस्तो लक्षण नेपालमा देखा परिरहेको छ । तुलनात्मक रुपमा नेपालमा डायबिटिज नयाँ प्रवृत्ति देखा परेको छ । डा. दीपक मल्ल भन्छन्, ‘हामीले नेपालमा जति मानिसहरू डायविटिज भएको छ भनेर अनुमान गर्छाैं, त्यति नै संख्यामा पहिचान हुन नसकेकाहरू पनि छन्।’

मुख्य रुपमा डायबिटिज भइसकेपछि आँखा, मुटु, खुट्टा, नशा र मिर्गाैलामा आघात पर्न सक्छ । नेपालमा डायबिटिज बढ्नुको अर्काे कारण शहरीकरण मानिएको छ । डा बुद्ध कार्की भन्छन्,  ‘बाटोघाटोको विस्तार, शहरीकरण लगायतका कारणले हरेक गाउँमा चाउचाउ लगायतका प्रशोधित खाद्यपदार्थ पुगिसकेका छन् । जीवनशैली निस्क्रिय भैरहेको छ । पहिले शहरमा बसिरहेकामा भन्दा पनि गाउँमा बसेर पछि शहरमा बसाई सरेकाहरूमा यस्तो समस्या बढी देखिएको छ ।’

के गर्दैछ स्वास्थ्य मन्त्रालय र सरकार ?

निष्क्रिय जीवनशैली र खानपानका कारण नसर्ने रोगको प्रभाव बढ्दै जाँदा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरू चिन्तित छन् । विश्वका विभिन्न देशले अस्वस्थकर खानपानलाई निरुत्साहित गर्ने र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अघि सारिरहेका छन् ।

नेपाल सरकार पनि यो विषयमा सचेत भएपनि प्रभावकारी कार्यक्रम गर्न सकिरहेको देखिदैैन । यही अवस्थामा दुई वर्ष अघि मात्रै डब्लुएचओको सहकार्यमा ‘मल्टिसेक्टरल एक्सन प्लान’ ल्याइएको छ । तर अहिलेसम्म अपेक्षित उपलब्धि हासिल भएको छैन । सन् २०२० सम्म समयसीमा रहेको उक्त एक्सन प्लानमा विभिन्न मन्त्रालय लगायत १६ वटा सरोकारवालाहरू  छन् ।

योजनामा केही महत्वाकांक्षी योजना पनि छन् ।  मुटुको रोग, क्यान्सर र डायबिटिजको कारणले हुने मृत्युदर २५ प्रतिशतले घटाउने, मदिरा सेवन १० प्रतिशतले घटाउने, २५ प्रतिशतले उच्चरक्तचाप घटाउनेलगायत योजनामा उल्लेख छन् ।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहका अनुसार पनि शहरीकरणले गर्दा नसर्ने रोग बढिरहेको छ । उनी भन्छन्, ‘प्रदुषित हावा, अशुद्ध पानी, खानाको गुणस्तर, समय व्यवस्थापन  र जंकफुडको प्रयोग जस्ता कुराले यस्ता स्वास्थ्य समस्या आइरहेका छन् ।’ त्यसैले मन्त्रालयले यसलाई व्यवस्थापन गर्दै लैजाने तयारी गरेको उनले बताए । तर विभिन्न क्षेत्रको सहभागिता बिना सम्भव नहुने भएकाले केही सुस्तजस्तो देखिएको उनको ठहर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment