निर्मला बिसी/कैलाली ।
फागुन ९ – ‘श्रीमान घर फर्किदिए मात्रै हुन्थ्यो मलाई अरु केही चाहिन्न’ कैलालीको चौमाला-५ की विष्णु ओझाले आशालाग्दो तरिकाले भन्नुभयो । विवाह भएको १४ वर्ष पुग्यो छोरो पनि आठ वर्षको भईसक्यो तर श्रीमान् अझै फर्केका छैनन् । छोरो एक वर्षको हुँदा उहाँका श्रीमान् नेत्रप्रसाद ओझा युएई जानुभएको थियो ।
घर फर्केर आउलान भन्ने आशै आशमा आठ वर्ष बितिसक्यो । तर घर आउने कुरै गर्नुहुन्न । विदेश गइसकेपछि पनि फोनमा कुरा गरिरहने श्रीमानले आफूसँग अहिले कुरै नगर्लान भन्ने कुरा विष्णुले कल्पना पनि गर्नुभएको थिएन । तर त्यही भयो जुन कल्पना बाहिरको थियो ।
विदेश जाँदा नरुनु है म छिट्टै फर्किन्छु भनेर श्रीमानले सम्झाएको अझै ताजा छ विष्णुको मनमा । उहाँको डेढ वर्ष अघिसम्म जति फोनमा कुरा भइरहन्थ्यो । तर त्यसपछि विनाकारण फोनमा हुने कुरा बन्द भयो । अहिले पनि फोन त आउँछ तर बुवाआमासँग मात्रै गफ गर्नुहुन्छ विष्णुका श्रीमानले ।
‘न मसँग बोल्नुहुन्छ न त छोरासँग नै’ विष्णु भन्नुहुन्छ । श्रीमानले फोन गर्न छोड्नुको कुनै कारण ठम्याउन सक्नुभएको छैन उहाँले । फोन गर्न छाडेका श्रीमानले अहिले त उहाँलाई पैसा पनि पठाउन छोड्नुभएको छ । अहिले पैसा पनि बुवाआमालाई नै पठाउन थालेको विष्णुले बताउनुभयो । ‘पहिलो वर्ष कमाई भएन भनेर पठाउनु भएन त्यसपछिका वर्षहरुमा वार्षिक दश बिस हजार गरेर मात्र पठाउने गरेका रहेछन्’ विष्णुले भन्नुभयो ।
सुरु सुरुमा फोन नआउँदा काममा व्यस्त भएर होला भन्ने सोच्नुभयो तर केही महिनापछि श्रीमानले विवाह गरेको सुन्नुभयो । एकै पटकमा विश्वास लागेन तर फोन गर्दा उठाएकी महिलाले आफू नेत्रको श्रीमती भएको बताएपछि कुरा प्रष्ट भयो । त्यति बेला मात्रै श्रीमानले फोन गर्न कम गरेको र पैसा पठाउन छोड्नुको कारण थाहा पाउनुभयो । ‘तर आफ्नै आँखाले नदेखेसम्म कसरी विश्वास गर्नु ?’ विष्णुको मनमा अहिले पनि यही कुरा खेलिरहेको छ । ‘यही छोराको मुुख हेरेर बसेकी छु’ भावुक हुदै भन्नुभयो, ‘कहिले काहीँ श्रीमानले घरमा आमाबुवासित फोनमा कुरा गर्दा उहाँको आवाज सुन्न कुरा गरिरहेको बेलामा मोबाईलमा कान लगाएर सुन्छु र चित्त बुझाउछु ।’
गएको वर्षको दसैँमा श्रीमानले ३० हजार रुपैयाँ घरमा पठाउनुभएको थियो । त्यसमा ५ हजार रुपैयाँ विष्णुलाई दिनु भन्नुभएको थियो रे । श्रीमानका यस्ता कुरा सुन्दा विष्णुलाई अझै मलाई सम्झिनु हुँदो रहेछ जस्तो पनि लागिरहेको छ।
विदेश जान लागेकी विष्णुले पसल थालिन्
श्रीमानले दोस्रो विवाह गरेको थाहा पाएपछि विष्णुले एक पटक आफू पनि विदेश जाने निर्णय गर्नुभयो । विदेश जान पासपोर्ट पनि बनाइसक्नुभएको थियो उहाँले । ‘विदेश गएर उतै श्रीमान खोज्छु उतै काम गरेर पैसा कमाउँछु, यदी भएन भने उतै मर्छु भन्ने सोच पनि आएको थियो’ विष्णु भन्नुहुन्छ । तर गाउँमा सुरक्षित आप्रवासन परियोजना सामीको आर्थिक सहयोगमा नेफस्कुनले चलाएको वित्तिय साक्षरता कक्षामा सहभागी भएपछि उहाँको सोचाई फेरियो ।
कक्षामा वैदेशिक रोजगारीका लागी विदेश जाँदा हुने समस्याका बारेमा र स्वदेशमै पनि केही गर्न सकिने कुरा थाहा पाउनुभयो । त्यसपछि त उहाँलाई मैले पनि केही गरें भने कमाउन सक्छु भन्ने हिम्मत पलाएको छ ।
कक्षा लिएको तीन महिनामै कर्जा र सापट लिएर ६५ हजार रुपैयाँको लगानीमा उहाँले पसल सुरु गर्नुभयो । गाउँमै अहिले कस्मेटिक पसल राख्नुभएको छ । अहिले उहाँ दैनिक एक हजारदेखि १५्र सय रुपैयाँसम्म कमाइरहनुभएको छ । उहाँले कमाएको पैसा बचत पनि गर्न थाल्नुभएको छ । ससुराले पनि चौमाला बजारमै किराना पसल थाल्नुभएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment