Monday, February 20, 2017

खाना खाने गलत तरिकाले निम्त्याउँछ पेट सम्बन्धि रोग : डा. भुपेन्द्र बस्नेत

खाना खाने गलत तरिकाले निम्त्याउँछ पेट सम्बन्धि रोग
डा. भुपेन्द्र बस्नेत

खाना के का लागि खाने ? कतिले जिब्रोको स्वादका लागि खान्छन् भने कतिले पेट भर्न । तर स्वस्थ रहन खाना खानुपर्छ भन्ने चेतनाको भने अभाव  छ । यही कारणले पेट सम्बन्धी रोगका बिरामीको सँख्या बढ्दै गइरहेको छ  ।

खाना खाने बानीले हाम्रो स्वास्थ्य अवस्था निधारण गर्ने गर्दछ । सन्तुलित आहार र खाना खाने तरिकाको सम्बन्ध प्रत्यक्ष रुपमा पाचन प्रक्रियासँग सम्बन्धित भएकाले यसको ज्ञानको दायरा फराकिलो पार्नुपर्ने देखिन्छ ।

यस सम्बन्धी ज्ञान नभएर वा ध्यान नदिएर वीर अस्पतालमा मात्रै दैनिक १ सय ५० सम्म बिरामी आउने गरेका छन् । उनीहरु पेट दुख्ने, फुल्ने, पातलो दिसा हुने जस्ता समस्याहरु लिएर आउने गरेका छन् ।

स्वस्थ रहन सन्तुलित र स्वस्थ भोजन जरुरी हुन्छ । सन्तुलित  भोजनमा सबै प्रकारका पौष्टिक तत्वहरु हुनुपर्छ । जसमा कार्बोहाइडे«ट, प्रोटिन, फ्याट, भिटामिन, खनिज र  पानी पर्छ ।

पौष्टिक तत्व रहेका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।  जुन खानेकुरा सफा हुनु पनि उत्तिकै आवश्यक छ ।

नेपालीहरुको खानामा कार्बोहाइडेटको मात्रा धेरै तर प्रोटिन, फ्याटलगायतका पोष्टिक तत्व न्युन हुने गरेको छ  । भिटामिन र मिनरलहरु झन्  कम हुन्छन् । यस्तो अवस्थामा प्रोटिन र फ्याटको मात्रा बढाउने भिटामिन र मिनरलको लागि फलफूल तथा सागसब्जी बढी मात्रामा सेवन गर्दा उत्तम हुन्छ ।

पाचन प्रक्रिया मुखबाट  शुरु भई  निल्ने नली हुँदै ती खानेकुरा आमाशाय सानो आन्द्रा, ठुलो आन्द्रासम्म पुग्छन् । त्यहीँबाट आवश्यक पौष्टिक तत्व शरीरले लिन्छ, जुन रगतको माध्यमबाट शरीरको विभिन्न ठाउँमा पुगेर शक्ति प्रदान गर्छ । विकार तत्वहरु पिसाब तथा दिसाको माध्यमबाट बाहिर निस्कन्छ । यस प्रक्रियामा  विभिन्न ग्रन्थीले महत्वपूर्ण भूमिका खेल्छन् ।

कहिलेकाहिँ आन्तरिक गडवढी जस्तै  खानेकुराको एलर्जीले  खाना नपच्ने, पेट फुल्ने, तथा दुख्ने, पातलो दिसा हुने जस्ता समस्या देखा पर्छन् र  पाचन नलीलाई असर गर्छ । त्यस्तै अर्को समस्या इरिटेबल बोडेल सिन्ड्रम, जसमा पेट फुल्ने, दुख्ने, समस्या रहन्छ ।

नेपालीहरुमा  धेरै हुने रोग ग्याँष्ट्रिक पनि खानेकुरासँगै सम्बन्धित छ । यदि  स्वस्थ खानेकुरा शरीरलाई चाहिने जति मात्रै खाने बानी बसाल्ने  आवश्यक मात्रामा खाने हो भने पाचन प्रणालीलाई स्वस्थ बनाउन सक्छ । जुन विश्व पाचन दिवसको उद्देश्य पनि हो  ।

सफा सन्तुलित खानाले मात्र पुग्दैन । खाने बानीमा पनि परिवर्तन गर्न जरुरी देखिन्छ । नेपालीहरुमा खाना खाने तरिका स्वस्थकर छैन । खान पाएको बेला अत्याधिक खाने र नपाएमा लामो समयसम्म भोकै बस्ने बानी हुन्छ । यसले पनि पाचन प्रक्रियामा असर पार्दछ । आमा नेपालीले दिनको ३ पटक खाना खान्छन् । न्युन आय भएकाहरुलाई त्यो पनि सम्भव छैन । तर, खाने खाने सही बानी भने थोरै थोरै गरेर दिनमा कम्तिमा ६ पटक खानु हो ।

हतार भयो भनेर छिटो छिटो खाना खानु पनि उपयुक्त तरिका होइन । यस्तो गर्दा पाचन ग्रन्थीबाट निस्केको रससँग  खाना मिसिन पाउदैन ।  त्यत्तिकै बाहिर निस्कन्छ । राम्रोसँग चपाएर आउने रस र पाचन ग्रन्थीबाट आउने रसको मिश्रण  शरीरको लागि आवश्यक तत्व हो ।

आज  विश्व पाचन दिवस
आज विश्व पाचन दिवस हो । पाचन प्रणाली सम्बन्धि रोग र बच्ने तरिकाहरु सम्बन्धी चेतना फैलाउन वल्र्ड  ग्याष्ट्रोइन्ट्रेलोजिष्ट  अर्गनाइजेशनले हरेक वर्ष मे २९ तारिखका  दिन विश्व पाचन दिवसका रुपमा मनाउने  गरेको छ । एक सय सदस्य राष्ट्रका   ५० हजार पेट सम्बन्धि रोगका विशेषज्ञ आवद्ध छन् ।

नेपालका पेट रोग विशेषज्ञहरुको संगठनले  पनि तीन वर्षअघि यसको सदस्याता लिएको छ, जुन संगठनमा नेपालका ८० विशेषज्ञ चिकित्सक आवद्ध छन् ।

पेट तथा  कलेजो रोग सम्बन्धी सर्बसाधारणलाई जानकारी दिने, रोगका रोकथामका उपाय बारे सर्वसाधारणलाई चेतना फैलाउने कार्यमा  यो संगठन सक्रिय छ ।



हरेक वर्ष पेट तथा कलेजो रोग सम्बन्धी एउटा रोगका बारेमा विशेष अभियानका साथ जनचेतना कार्यक्रम गर्ने गर्छ । यस वर्षको विश्व पाचन दिवसको नारा ‘खानेकुरा र पाचन नली’ रहेको छ ।

(वीर अस्पतालका कन्सल्टेन्ट ग्याष्ट्रोइन्ट्रेलोजिष्ट डा बस्नेतसँग गीता कठायतले गरेको कुराकानीमा आधारित)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment