२४ फागुन, काठमाडौं । सप्तरीमा हिजो भएको झडपमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । प्रहरीसँगको झडपको क्रममा मलेठ गाविस दुईका २० वर्षीय सञ्जन मेहता, मलेठ चारका ५० वर्षीय पिताम्बर मण्डल र प्रसवनी चारका ३५ वर्षीय आनन्द साहकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ । गोली लागेर गम्भिर घाइते ७ जनाको अहिले धरान स्थित विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । त्यस्तै सामान्य घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भैरहेको छ । यता मोर्चाले स्थानीय कानुन व्यवसायी दिगम्बर यादवको मृत्यु भएको भनेपनि प्रहरीले भने यादवको धरानमा उपचार भैरहेको बताएको छ ।
सरकारको समर्थन फिर्ता लिने र आन्दोलनमा जाने मोर्चाको निर्णय
सप्तरी घटनापछि हिजो(सोमबार) साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । मोर्चाले आजै राष्ट्रपति र सभामुखलाई भेटी सरकारको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराउने मोर्चाका नेता अनिल झाले नेपाली हेडलाइन्ससँग बताए । झाले सप्तरीमा हिजो भएको घटनाको सरकार र प्रतिपक्षी दल एमालेले लिनुपर्ने बताए । मोर्चाले घटनाको विरोधमा मंगलबार र बुधवार मधेस बन्द आह्वान गरेको छ । सप्तरीमा मोर्चाले अनिश्चितकालीन आम हड्ताल आह्वान गरेको छ । मधेसका जिल्लामा बन्दको प्रभाव देखिएको छ । बिहानैदेखि बजार, यातायात बन्द रहेकाछन् । बन्दका कारण मधेस हुँदै चल्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन भने उद्योग कलकारखाना, शिक्षण संस्था लगायत बजार ठप्प छन् । वीरगञ्ज, जनकपुर, रौतहट, राजविराज लगायतका मुख्य शहरमा विहानैदेखि मोर्चा समर्थक प्रदर्शनमा उत्रिएका छन् ।
रातारात फर्किदै एमाले नेताहरु
सप्तरीको घटनापछि एमालेले मेची–महाकाली अभियान तीन दिनलाई स्थगित गरेको छ । हिजो साँझ सप्तरीको कंचनपुरमा बसेको स्थायी समितिको आकस्मीक बैठकले अभियान स्थपगत गरेको हो । स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरेको एमालेले बताएको छ । सप्तरीको घटना मधेसी मोर्चाको आवरणमा षड्यन्त्रकारी र विध्वंसात्मक गतिविधि भएको एमालेको निष्कर्ष छ । अभियान स्थगित भएपछि एमाले शीर्ष नेता र कार्यकर्ताहरू गएराती नै काठमाडौं तर्फ प्रस्थान गरिसकेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment