युएई, फागुन १४– सेक्युरिटी गार्डको रुपमा कामगर्न भन्दै ९ महिना पहिले युएई आएका ६ जना नेपाली अलपत्र परेका छन । युएईमा रहेको रोयल फाल्कोन सेक्युरिटी कम्पनीका लागि डिडी ओभरसिजबाट ९ सय १८ जना र सेभेनसिस प्रालीबाट ९८ जना प्रतिब्यक्ती ४ लाख तिरेर युएई आएका थिए । उनीहरुले आए देखि काम नपाएको बताएका छन् ।
अलपत्र पर्नेमा काठमाडौंको जोरपाटीका समिर कार्की, बुढानिलकण्ठका रुपेन्द्र थापा, कमलविनायक भक्तपुरका नविन खड्का, डडेलधुराका सागर शाक्य , गोरखाका सरोज अर्याल र हुती ५ दार्चुलाका पदम भण्डारी रहेका छन् । उनीहरु गएको जेठ २७ गते प्रतिव्यक्ति २ लाख देखि ४ लाख रुपैयाँ बुझाएर युएई आएका हुन् ।
म्यानपावरले सुरुको तीन महिना काम नपाएपनि तलव दिन्छ भनेपछि उनीहरु ढुक्क भएर युएई आएका थिए । तर ९ महिना बितिसक्दा पनि तलव र काम नपाएपछि आफूहरु ठगीएको पीडितले बताएका छन् । आएको पाँच महिना सम्म पनि काम नपाएपछि सहयोगका लागि दूतावासमा निवेदन दिएका थिए ।
२४ जना नेपाली समस्या लिएर दुतावास पुगेपछि दुतावासले म्यानपावर कम्पनीका युएई प्रतिनिधि सन्जिव श्रेष्ठ, कम्पनी र कामदारलाई राखेर छलफल गराएको थियो । कम्पनीले सुरुको तीन महिनाको तलब म्यानपावरले दिनुपर्ने र त्यसपछि काम र तलवको जिम्मा आफूले लिने भन्दै दुतावासकै रोहरबरमा प्रतिव्यक्ती २ हजारका दरले २ महिनाको तलब ४ हजार दिर्हाम उपलब्ध गराएको थियो ।
छैटौं महिनाबाट उनीहरुले काम र तलव पाएका छैनन् । दूतावासमा उजुरी गरेको भन्दै कम्पनीले आवुधावीबाट उनीहरुलाई अहिले टाढाको क्याम्पमा सारेको समिर कार्कीले जानकारी दिनुभयो ।
कम्पनीमा काम पाएका १८ जना नेपालीले पनि समयमै तलव नपाएको गुनासो गरेका छन् । २ जनालाई अजमानमा ६ जनालाई आवुधावी नजिक र १० जनालाई साउदी अरबको सिमानामा काम दिएको छ । त्यहाँ खान बस्न समस्या भएको पीडितको भनाइ छ ।
युएईस्थित नेपाली दूतावासले कम्पनीसँग समन्वय गरिरहेको बताए पनि नतिजा अहिले सम्म देखिएको छैन । दूतावासमा गएको भन्दै कम्पनीले अदालतमा मुद्दा हाल्ने धम्की दिएको कामदारले बताएका छन् । ६ जनाले प्रहरीमा समेत उजुरी गरेका छन् ।
तर कम्पनीले उल्टै उनीहरुलाई रक्सि खाएको र हुलदङ्गा गरेको भन्दै भिसा क्यान्सिल गरिदिएको छ । भिसा रद्द भएपछि क्षतिपूर्ति माग गर्दै दुतावास पुगेका छन् । दुतावासका काउन्सिलर भेषबहादुर कार्की र श्रम सहचारी हिरा कुमारी यादवले कम्पनीलाई पटक पटक सम्पर्क गरेर समन्वय गर्न भनेको बताउनु भएको छ ।
कम्पनीले लेखापाललाई दूतावासमा पठाएर हिसाब किताब देखाएको छ । काम गरिरहेका १८ जनालाई अहिले सम्मको सबै तलव दिने बताएपनि भिसा रद्द गरेर नेपाल पठाउन लागेका ६ जनाको बिषयमा आनाकानी गरिरहेको छ ।
तर दूतावासले जबरजस्ती कामदार निकाल्ने र क्षतिपूर्ति नदिए अबदेखि यो कम्पनीलाई कालो सूचिमा राख्ने चेतावनी दिएको छ । यस्तै यो कम्पनीमा कामदार पठाएर अलपत्र पार्ने नेपालका डिडी ओभरसिज र सेभेनसिस प्रालीलाई पनि कारबाहीका लागि सिफारिस गर्ने तयारी दूतावासले गरेको छ । एक साता भीत्र समस्या समाधान नगरे सम्बन्धित कम्पनी तथा म्यानपावर एजेन्सीलाई मागपत्र नपाउने गरी कारबाही गर्ने दूतावासले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment