काठमाडौँ २४ फागुन । सप्तरीमा हिंसावादी–निषेधकारीहरूले मच्चाएको ताण्डवबाट तीनजना नेपालीको ज्यान गएको छ । (मृतकको संख्याबारे फरक फरक समाचार आइरहेको छ) । मृतक नेपाली दाजुभाइहरूप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सो घटनाका दोषी हिंसावादीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग पनि गर्दछु । यस्ता घटनाका दोषीलाई कारवाही गरिएन भने हिंसावादी–निषेधकारीहरूको हौसला झन् बढ्छ । त्यसैले कारवाहीका लागि सरकारले कठोर कदम चाल्नुपर्छ ।
आफूबाहेक अरुले सभाजुलुस गर्न नपाउने भनेर मधेसी मोर्चा तथा त्यसमा आवद्ध दलहरूले घोषणा गरेका थिए । घोषणा अनुसार नै एमालेको सभामा उनीहरू आक्रमण गर्न आएका थिए । त्यसैले सप्तरी घटनाका दोषी मधेसी मोर्चाका नेताहरू हुन् ।तराईका मधेसी, थारु, जनजाति तथा अन्य विभिन्न समुदाय मधेसी मोर्चाका नेताहरूका रैती हुन् ? मधेसका जनता कुन पार्टीको सभामा जाने या नजाने भनेर उनीहरूले तोक्ने हो ? के मधेसी मोर्चाका नेताहरूको विर्ता हो तराई ? उनीहरूले कसलाई सभा गर्न दिने र नदिने भनेर तोक्नु कतिसम्म अत्याचार हो भनिरहन परेन । तराईका जनता भेंडाबाख्रा हुन् र उनीहरूले आफ्नो बाहेक अरु पार्टीको विचार सुन्न हुँदैन भन्ने मधेसी मोर्चाका नेताहरूको व्यवहार मधेसका समस्त जनताका लागि अपमानजनक छ ।
राजविराजमा एमालेको सभामा हजारौं हजार मानिस सहभागी भए, अधिकांश मधेसी तथा थारु थिए । यसबाट प्रमाणित हुन्छ कि मधेसी तथा थारु समुदायका अधिकांश मानिस एमालेको साथमा छन् । यही कुरा प्रमाणित नहोस्, मधेसका जनता आफ्नो रैती हुन्, आफूले भनेको भन्दा मधेसका जनताले दायाँबायाँ केही गर्न सक्दैनन् र पाउँदैनन् भनेर देखाउने हिंसावादीहरूको प्रयास असफल भएको छ । तर उनीहरू हिंसा मच्चाउन भने सफल भएका छन् । हिंसावादीहरूलाई सघाउ पुराउने काम सरकारले पनि गरेको छ ।
हिंसावादीहरूले राजविराजमा एमालेको सभा विथोल्न हिंसात्मक बाटो अपनाउने घोषणा गरेका थिए र त्यही अनुसार हिंसा मच्चाए । सो हिंसाबाट मृत्यु हुनेहरूको आत्माले अब मोर्चाका हिंसावादी नेताहरूलाई धिक्कार्नेछ । मृतकका परिवारको आँशु हिंसावादीहरूले कसरी पुछ्न सक्छन् ? यी हिंसावादीहरू मानिसको मृत्युमा रमाउँछन्, मृत्यु भएमा आन्दोलनको बहाना पाइन्छ भनेर ढुकेर बसेका थिए ।
हिंसा मच्चाउने, हिंसामा मानिस मराउने अनि अरुलाई दोष लगाउँदै आन्दोलन गर्ने अपराध हिंसावादीहरूले गर्ने गरेका छन् र अहिले पनि त्यही गरेका छन् ।हिंसाको जवाफ हिंसा हुन सक्दैन, नेकपा एमाले त्यो पक्षमा कहिल्यै उभिन सक्दैन । एमाले शान्तिवादी पार्टी हो । हिंसालाई शान्तिले जहिले पनि जितेको छ । हिंसावादीहरू केही समय चम्कन्छन्, उनीहरू केही समय रगत बगाउन सक्छन् तर अन्तिममा जित शान्तिकै हुन्छ । त्यसैले आउनुस्, शान्तिकामीहरू एकजुट बनौं, शान्तिका लागि हरेक व्यक्ति मन वचन र कर्मले प्रतिवद्ध बनौं ।
– फेसबुकबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment